दफा ७५
विवरण राख्नु पर्ने
: (१) प्रत्येक कम्पनीले साधारण सभामा भएको काम कारबाहीको विवरण (
माईन्यूट) एउटा छुट्टै किताबमा राख्नु पर्नेछ र सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र कम्पनी
सचिव भए कम्पनी सचिवले दस्तखत गर्नु पर्नेछ । कम्पनी सचिव नभएको कम्पनीको हकमा सो
विवरणमा सम्बन्धित सभाको अध्यक्ष र साधारणसभाद्वारा बहुमतबाट नियुक्त शेयरधनीहरुको
एकजना प्रतिनिधिले दस्तखत गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विवरण राख्दा सभाको सूचना कसरी जारी गरियो, कति
शेयरधनीहरु उपस्थित थिए &भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधि मार्फत साधारण
सभामा उपस्थित भएकोमा त्यसरी उपस्थित हुने सञ्चालकको संख्या, जम्मा शेयरको कति
प्रतिशतको प्रतिनिधित्व भएको थियो, सभामा के के निर्णय गरियो र मतदान भएकोमा मतदानको
परिणाम के भयो आदि सबै कुराहरु खुलाउनु पर्नेछ ।
(३) साधारण सभा भएको तीस दिनभित्र यस दफा बमोजिम लेखिएको विवरण
शेयरधनीहरुलाई पठाउनु पर्नेछ ।
तर कुनै कम्पनीले सो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गरेमा
शेयरधनीहरुलाई पठाइरहनु पर्ने छैन ।
(४) उपदफा (१) बमोजिम राखिएको साधारण सभाको काम कारबाहीको विवरण
कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नु पर्नेछ । त्यस्तो विवरण कार्यालय समयभित्र कुनै शेयरधनीले
हेर्न चाहेमा कम्पनी सचिव वा कम्पनीले तोकेको अन्य कर्मचारीले हेर्न दिनु पर्नेछ ।
(५) कुनै शेयरधनीले साधारण सभाको काम कारबाहीको विवरणको प्रतिलिपि लिन चाहेमा
कम्पनीले नियमावलीमा तोके बमोजिमको दस्तुर लिई प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।